काठमाडौं– धितोपत्र बजारको सूचक नेप्से सोमबार झिनो अंकले उँभो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ बिन्दुले उकालो लागेर २५४४.९४ मा पुगेको हो ।
यस दिन ठूला कम्पनीको कारोबारस्थिति दर्शाउने सेन्सेटिभ परिसूचक २.४१ बिन्दुले बढेर ४९२.५३ कायम भएको छ । यस दिन २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड नौ लाख ३० हजार ४०३ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य उकालो चढेको छ भने ८ उपसमूहको मूल्य घटेको छ । बैंकिङ ६.४, होटल तथा पर्यटन १४.१८, निर्जीवन बिमा ९.८८, उत्पादन ८७.६३, अन्य ३५.५ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार १५.७४, विकास बैंक २१.४१, जलविद्युत् ३१.९९, वित्त २८.२४, लघुवित्त ४.५७, जीवन बीमा १५०.३२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.५७ बिन्दुले ओरालो लागेको छ ।
नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण ३६ खर्ब ६ अर्ब २२ करोड ६२ लाख ७० हजार ६२४ बराबर छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २७ करोड ६९ लाख ३२ हजार ८६३ बराबरको कारोबार भयो ।
यस्तै नेपाल दूरसञ्चार कम्पनी १२ करोड ६२ लाख ७६ हजार ४८६, नेपाल लाइफ इन्स्योरेन्स ११ करोड ६ लाख २५ हजार, एनआइसी एसिया बैंक १० करोड ५० लाख २७ हजार ५८२ र पाँचथर पावर कम्पनी १० करोड ४२ लाख २७ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।
नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ५.८९, बोटलर्स नेपाल तराई ५.४८, सामुदायिक लघुवित्त ४.३४, इमर्जिङ नेपाल ४.०१ र नेपाल दूरसञ्चार कम्पनीका लगानीकर्ताले ३.१८ प्रतिशतले कमाए ।
त्यस्तै पाँचथर पावर कम्पनी ६.९०, पञ्चकन्या माई हाइड्रोपावर ४.४७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.१३, बरुण हाइड्रोपावर ३.९१ र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.४६ प्रतिशत गुमाए ।









