काठमाडौं– चालु आर्थिक वर्ष २०७८–७९ को सात महिनामा मुलुकको व्यापार घाटा झन्डै १०१६ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले बढे पनि आयातको तुलनामा निर्यातको आकार सानो हुँदा व्यापार घाटा बेपत्ता बढेको हो ।
यस अवधिमा १३१ अर्ब ६६ करोडको वस्तु निर्यात हुँदा ११४७ अर्ब ४६ करोडको वस्तु आयात भएको छ । आयात वृद्धि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.८ प्रतिशतले बढी हो ।
यस अवधिमा गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११३.० प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १२.४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुस लगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, तार, तामाको तार लगायत वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८–७९ को सात महिनामा कुल वस्तु आयात ४२.८ प्रतिशतले बढेर ११४७ अर्ब ४६ करोड पुगेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३०.९ प्रतिशत, ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ । एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायत वस्तुको आयात घटेको छ ।









