काठमाडौं– राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल र त्यसका सञ्चालकलाई छलेको कर र जरिवानाबापत झन्डै साढे सात अर्ब रुपैयाँ तिराउन माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । बोटलर्स नेपालमा विदेशी सञ्चालकले सेयर स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छलेको विभागको भनाइ छ ।
कोकाकोला, स्प्राइट, फेन्टालगायत हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाललाई ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रूपैयाँ बिगोको शतप्रतिशत जरिवाना कायम गरी ७ अर्ब ४३ करोड ६३ लाख रूपैयाँ माग दाबी गरिएको विभागले जनाएको छ ।
यसअघि बोटलर्स नेपालले छलेको कर तिर्ने भन्दै मुद्दा दायर नगर्न अमेरिकी दूतावासमार्फत लबिङ गरेको थियो । कोकाकोला अमेरिकी कम्पनी हो ।
बोटलर्स नेपालको स्वामित्व खरिद–बिक्रीमा पुँजीगत लाभकर छलिएको सूचनाका आधारमा विभागले २०७७ मंसिरमा अनुसन्धान थालेको थियो । विभागले बोटलर्स नेपालका सेयरधनीलाई उपस्थित हुन सार्वजनिक सूचनामार्फत आह्वान गर्दा पनि सम्पर्कमा नआएपछि मुद्दा दायर गरेको हो । विभागले गत पुस २ गते सार्वजनिक सूचना प्रकाशित गरी बोटलर्स नेपाल लिमिटेडका पूर्वअध्यक्ष शुक्ला वासनसहितका उच्च अधिकारीलाई एक साताभित्र विभागमा उपस्थित हुन भनेको थियो ।
बोटलर्स नेपाल लिमिटेडमा बहुमत सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरिएको थियो । विभागका अनुसार बोटलर्स नेपालको सेयर स्वामित्वमा परिवर्तन भई सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भए पनि सेयर बिक्रीबापतको पुँजीगत लाभकर तिरिएको छैन ।
बोटलर्सको सेयर स्वामित्वमा परिवर्तन गर्दा ठूला करदाता कार्यालय लगायतका सम्बन्धित निकायलाई जानकारी नदिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । आर्थिक वर्ष ०७१÷७२ को आय विवरण पेस नगरी सेयर स्वामित्व परिवर्तन भएको कारणले सिर्जना हुन आउने कर दायित्व पूरा नगरी राजस्व चुहावट गर्ने कसुरमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।
मुद्दामा विभागले बोटलर्स नेपाल र बोटलर्स नेपालको सेयरहोल्डर संयुक्त अरब इमिरेट्सको दुबईस्थित कम्पनी कोकाकोला साउथवेस्ट होल्डिङ लिमिटेडको साबिक कोकाकोला साब्को एसियाका तर्फबाट प्रतिनिधित्व गर्ने नौजना सञ्चालक र आठजना कर्मचारीलाई प्रतिवादी बनाएको छ ।
यसअघि एनसेलको सेयर स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छलिएकोमा सर्वोच्च अदालतले एनसेलले कर तिर्नुपर्ने फैसला दिएको थियो । विभागले मुद्दा दायर गर्दा त्यसलाई पनि आधार बनाएको छ । नेपालमा दर्ता भएको कुनै पनि स्वदेशी वा विदेशी कम्पनीको सेयर बिक्री हुँदा लाभ प्राप्त भए त्यसमा लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था छ । बोटलर्सले स्वामित्व परिवर्तन गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयलाई जानकारी दिनुपर्नेमा त्यो पनि नगरेको विभागको भनाइ छ ।
कोकाकाला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपालको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३८ सय ८३ रूपैयाँ थियो । कोकाकोला साब्कोको बोटलर्स नेपालको सेयर प्रतिकित्ता ५ सय ३६ रूपैयाँमा किनेको थियो । यस हिसाबले प्रतिकित्ता ३३ सय ४७ रूपैयाँ कोकाकोला साब्कोलाई पुँजीगत लाभ भएको तर त्यसबापत कर नतिरेको विभागको भनाइ छ ।र
सोही आधारमा कोकाकोला साब्को एसियाको बोटलर्स नेपालमा रहेको १४ लाख ८४ हजार ३ सय १ कित्ता सेयर बिक्रीबापत जम्मा ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४ सय ४७ रूपैयाँ पुँजीगत लाभ कायम हुने विभागको दाबी छ ।
आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ (१) बमोजिम २५ प्रतिशतका दरले १ अर्ब २४ करोड १९ लाख, ऐनको दफा ७ (१) बमोजिम ०.१ प्रतिशतका दरले हुने ३ करोड ४१ करोड, ऐनको दफा ११८ बमोजिम ब्याज १५ प्रतिशतका दरले १ अर्ब १० करोड २२ लाख ६५ हजार र दफा १२० (ख) बमोजिमको शुल्क १ अर्ब २४ करोड ९ लाख ८८ हजारसमेत गरी कुल बिगो ३ अर्ब ७१ करोड ८१ लाख राजस्व चुहावट गरेको विभागले जनाएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) (घ) अनुसार १० करोडभन्दा बढी बिगो कायम हुने करछलीको मुद्दामा ३ वर्ष कैद सजाय हुने व्यवस्था छ ।
बोटलर्स नेपालको सेयर स्वामित्व विदेशमा बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको महालेखा परीक्षकको कार्यालयको ५८औं प्रतिवेदनमा पनि उल्लेख छ । विभागले अनुसन्धानमा यसलाई पनि प्रमुख आधार बनाएको छ । नेपालमा सञ्चालित क्रियाकलापसँग सम्बन्धित भुक्तानी भएकाले सिर्जना भएको पुँजीगत लाभमा प्राथमिक रूपमा नेपालमा कर लाग्ने महालेखाको तर्क छ । ‘कम्पनीको नाम परिवर्तन गरिएको र सेयर खरिदबिक्री गर्दा भएको स्वामित्व परिवर्तनको जानकारी नेपालका कुनै पनि नियामक निकायलाई नदिनुका साथै निसर्गमा प्राप्त भएको लाभमा कर गणना गरी दाखिला गरेको देखिँदैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।









