वीरगन्ज– नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेशप्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिंहले महासंघको संस्थापक सदस्य हुँदै विभिन्न जिम्मेवारीका साथै कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेको महासंघले जनाएको छ ।
महासंघको वीरगन्जमा सम्पन्न २५औ राष्ट्रिय महाधिवेशन तथा २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलनसँगै भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर कँडेल तथा उपाध्यक्षहरुमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दनकृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्धतर्फ मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता वास्कोटा कोइराला, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठलाई चुनिएका छन् ।
महासंघको महासचिवमा डम्बरप्रसाद रेग्मी, कोषाध्यक्षमा अच्यूत पाण्डे, सचिवहरुमा दिपकबहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्रबहादुर चित्रकार, एसोसिएटतर्फ रुद्रप्रसाद न्यौपाने, सहकोषाध्यक्षमा ज्ञानबहादुर खडका तथा ८० जना सदस्यहरु निर्वाचित भएका छन् ।
महासंघ अन्तर्गतको केन्द्रीय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णाकुमारी पाठक, उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा. सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य छन् ।
नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताएका छन् । महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने पनि उनले बताए ।









