काठमाडौं– उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान सुरु गरेको छ । देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई माग अनुसार नै बिजुली दिने भएको छ ।
सोही क्रममा बाँकेको नेपालगन्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई १ महिनाभित्रमा ३५ मेगावाट बिजुली दिने तयारी गरेको छ । प्राधिकरणले अहिले सो स्टिल्स उद्योगलाई ८ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत् पुर्याउन आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी १ महिनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टिल्सलाई ३५ मेगावाट बिजुली दिन लागेको हो ।
उद्योगसम्म बिजुली पुर्याउन कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत् आपूर्ति लिन आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारको काम अन्तिम चरणमा पुर्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन गरी नेपालगन्ज तथा कोहलपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नुपर्ने पूर्वाधारका विषयमा छलफल गरेको छ ।
टोलीले नेपालगन्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टिल्स्को भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ । “विद्युत् खपत बढाउन उद्योगलाई मागेजति बिजुली दिइरहेका छौं, औद्योगिक करिडोरमा विद्युत् खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।
अम्बे स्टिल्सले विद्युत् जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । यस्तै आवश्यक तयारी पूरा गर्नासाथ विद्युत् आपूर्ति दिन सकिन्छ, प्राधिकरणको तर्फबाट कुनै समस्या नरहेको बताइएको छ । उनले अम्बे स्टिल्स सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रुपमा विकास हुन लागेकाले त्यहाँ १३२ केभीको सवस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । त्यसका लागि एशियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।
हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० सर्किट किलोमिटर १३२ केभी लाइन बनाएर १३२ केभीको सवस्टेसनमार्फत आगामी दिनमा उद्योगलाई बिजुली दिइने छ । ‘बिजुली खपत बढाउन र आन्तरिक रुपमा खपत गरेर जगेडा हुने विद्युत् भारतमा बिक्री गर्न सकेनौं भने बर्खामा दैनिक करिब पाँच सय मेगावाट बिजुली खेर फाल्नुपर्ने अवस्था आयो भने के होला ? त्यसैले ठूला उद्योगमा विद्युत् खपत बढाउन केन्द्रित हुनपर्छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसका लागि औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि विद्युतीय संरचनाको पूर्वाधार निर्माण योजनाबद्ध रुपमा अगाडि बढाएका छौं ।’
कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिएजति बिजुली दिन हाल रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सफर्मर थप गर्ने योजनाअनुरुप काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए ।
प्राधिकरणले ठूला औद्योगिक हब बन्ने सम्भावना भएका बारा–पर्सा क्षेत्र, भैरहवा, सुनवल, परासीलगायतका क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिरहेको छ । त्यसबाट आन्तरिक रुपमा नै बिजुलीको खपत बढ्नेछ । गत मनसुनमा मात्रै प्राधिकरणले ५ अर्ब बराबरको बिजुली खेर गएको जनाएको छ ।









