काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कामका लागि दक्षिण कोरिया लगिने कामदारको भाषा परीक्षा आगामी जेठदेखि हुने भएको छ। बर्सेनि हुँदै आएको भाषा परीक्षा कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको छैन ।
श्रम मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार आगामी चैत १४ देखि २१ गतेसम्म भाषा परीक्षाको आवेदन दर्ता हुनेछ । शाखाले कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको छ ।
आगामी २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको र जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।
यसैगरी उत्पादन क्षेत्रको पहिलो चरणको परीक्षा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणको भदौ १६ देखि असोज २० सम्म हुनेछ ।
कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको सीप परीक्षण वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणको जेठ २४ देखि असार १६ सम्म हुनेछ ।
यस्तै उत्पादन क्षेत्रको सीप परीक्षणका लागि पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म मिति तोकिएको छ ।
उत्पादनमूलक क्षेत्रमा पढाइ र सुनाइ गरी १०० पूर्णांकको परीक्षा हुनेछ । जसमा पास हुन कम्तीमा ५५ अंक ल्याउनुपर्नेछ । यस्तै कृषि तथा पशुपालन क्षेत्रमा कुल ९० पूर्णांकको परीक्षा हुनेछ, यसमा पास हुन ३६ अंक ल्याउनुपर्नेछ ।
परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने बताइएको छ । परीक्षा काठमाडौंमा मात्र सञ्चालन हुनेछ ।
आवेदनका लागि http://eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ । आवेदन १४ देखि २१ गतेसम्म दर्ता गर्नुपर्नेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ ।
दक्षिण कोरियाले सन् २००८ देखि इपिएसमार्फत नेपाली कामदार लैजान थालेको हो । आकर्षक कमाइ र नेपालको राम्रो मौसमले गर्दा नेपालीले दक्षिण कोरियालाई आकर्षक रोजगार गन्तव्य मान्छन् ।









