काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरी एक लाखजना म्यादी प्रहरी माग गरेको हो ।

म्यादी प्रहरीमा जागिर खान इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) को हकमा महानगरीय प्रहरी परिसरमा आवेदन बुझाउनुपर्नेछ । आवेदन फारम सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा महानगरीय प्रहरी परिसरमा पाइने बताइएको छ ।

दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सकिने बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न पदका लागि २०७८ साउन १ गतेदेखि भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिलाई भर्नामा प्राथमिकता दिने बताइएको छ ।

त्यसैगरी सेना, प्रहरी र सशस्त्रका अवकाशप्राप्त सुरक्षाकर्मी र पूर्व वनरक्षकहरुलाई पनि प्राथमिकता दिइने जनाएको छ । त्यस्तै विदेशी सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनहरुमा म्यादी प्रहरी भएर सनतोषजनक काम गरेकालाई भर्नामा प्राथमिकता दिइने बताइएको छ ।

म्यादी प्रहरीमा आवेदन दिन शैक्षिक योग्यता साधारण लेखपढ गर्न जानेको भए पुग्छ । नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको तथा कुनै राजनीतिक दलको सदस्य नभएको शारीरिक र मानसिक रुपमा तन्दुरुस्त व्यक्ति आवेदनका लागि योग्य हुन्छ ।

म्यादी प्रहरी छनोटको प्रक्रिया चैत १५ बाट सुरु हुने र अन्तिम नतिजा चैत २२ गते प्रकाशित हुने प्रहरीको सूचनामा उल्लेख छ । छानिएका म्यादी प्रहरीलाई चैत २८ गतेबाट प्रशिक्षण दिइनेछ । उनीहरुको अवधि बढीमा ४० दिन हुने र तलब, भत्ता गरी एकमुष्ठ ४४ हजार ४०० रुपैयाँ पाउने सूचनामा उल्लेख छ ।

जसमा ४० दिनको तलब ३० हजार २४०, खाद्यान्न बापत ७ हजार २००, पोसाक ६ हजार र चुनावी बुथमा जान–आउन १ हजार भत्ता हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय