काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।
योसँगै काठमाडौंको थानकोटबाट १५ किलोमिटरको दुरीसम्म पेट्रोलको मूल्य लिटरको १५५ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य १३८ रुपैयाँ पुगेको छ ।
त्यसैगरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएर प्रतिलिटर १५१ कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २०० डलरले बढाएर १४९५ डलर कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएपछि निगमले पनि भाउ बढाएको हो । पछिल्लो समय रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा सबै जसो वस्तुको मूल्य अकासिएको छ ।









