धुन्चे– रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेको छ । केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयातको परिमाण बढ्न थालेको हो ।
कोभिड–१९ संक्रमणका कारण विगतदेखि घटेको आयात बढाउने उद्देश्यले रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो ।
चीनबाट दैनिक नौ कन्टेनर सामान नेपाल आउने गरेकामा बुधबारदेखि १४ कन्टेनर आउन थालेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । यो परिमाण निरन्तर बढ्ने बताइएको छ ।
नेपाली व्यवसायीको माग बमोजिम आयात हुने मालसामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर रसुवागढी ल्याउन चिनियाँ अधिकारीले प्रतिबद्वता जनाएको उनले बताए ।
कोरोना संक्रमपछि आयातमा कमी आउँदा निराश बनेका कन्टेनर ढुवानी सेवाका चालक र सामान पल्टी गर्ने मजदूर उत्साहित बनेका छन् । दैनिक १४ चिनियाँ ठूलो कन्टेनरले ल्याएका सामग्री नेपालका २८ वटा कन्टेनरमा अटाउँछ ।
२०७२ को मंसिरदेखि खुलेको रसुवागढी नाकाबाट कोरोना संक्रमणकालमा ठप्प भएको थियो । त्यसपछि पहिलो चरणमा दैनिक तीन कन्टेनर सामान आउन थालेको थियो । पछि त्यसलाई बढाएर ६ र नौ कन्टेनर पुर्याइएको थियो । बुधबारदेखि १४ वटा ठूला चिनियाँ कन्टेनरले सामान ल्याउन थालेका छन् ।
चिनियाँ भू–भागको ढुवानीकर्ता मुसा ट्रान्सफरका प्रबन्ध निर्देशक झ्याङ सी पिङले नेपाली व्यवसायीको माग बमोजिम चीनको उत्पादक कम्पनीबाट रसुवागढीसम्म सामग्री ढुवानी कार्यलाई छिटोछरितो गरिरहेको र आगामी दिनमा नेपाल पठाउने सामान ढुवानीमा पहिलो प्राथमिकता दिने बताएका छन् ।
उनले चिनियाँ सामग्री नेपाल पठाउन अन्यत्रको मार्ग लामो हुने र रसुवागढीको मार्ग अत्यन्तै सरल एवं छोटो भएका कारण उत्पादित कम्पनीबाट आफ्नो कम्पनीले ढुवानीका लागि जिम्मा लिने सामग्री सुरक्षित पार्न जिलुङ् प्रान्तको केरूङमा आफूले पहिलादेखिनै गोदाम तयार गरिराखेको जानकारी दिए ।
रसुवागढी भन्सारका प्रमुख डा रामप्रसाद मैनालीले चीनबाट आयात भएका सामग्री छिटोछरितो परीक्षण एवं जाँचपास गर्न भन्सार प्रशासन तयार रहेको जानकारी दिए । उहाँले स्याउ, अदुवा, लसुन जस्ता वस्तुको जाँचपासमा पहिलो प्राथमिकता र अन्य सामानको हकमा क्रमबद्ध रूपले छिटोछरितो जाँचपास गरिँदै आएको बताए ।









