काठमाडौं– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले पोखराको चौथेमा नयाँ शाखा खोलेको हो । उक्त शाखा सञ्चालनमा आएसँगै यसका शाखा संख्या ९९ पुगेको छ ।
नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रस्टका प्रबन्ध निर्देशक ए हाई खाँले लघुवित्तको शाखा उद्घाटन गरेका हुन् । लघुवित्तका पिता मानिने ग्रामीण ट्रस्ट बंगलादेशका अध्यक्ष प्रोफेसर मोहम्मद युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तले युनुस–पोखरा शाखा स्थापना गरेको जनाएको छ ।
उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गण्डकी प्रदेश प्रमुख डा. रामशरण खरेल र पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष प्रेम कार्कीको विशेष उपस्थिति रहेको संस्थाले जनाएको छ ।
एमडी हाई खाँले लघुवित्तको मुख्य प्रवर्तक नेपाल ग्रामीण विकास संस्था (नेपाल रुरल डेभलपमेन्ट अगनाइजेसन (नेरुडो) सँग दशकौं पुरानो सम्बन्धको बारेमा जानकारी गराउँदै लघुवित्तलाई सबै सहयोग गर्ने आश्वासन दिए ।
राष्ट्र बैंकका प्रमुख डा. खरेलले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न वर्गको उत्थानका लागि राष्ट्र उत्थान लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । लघुवित्तका प्रमुख कार्यकारी निर्देशक सुधीरप्रसाद लोहनीले युनुस–पोखरा शाखाको आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराएका थिए ।
प्रोफेसर युनुस एक बंगलादेशी सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र नागरिक समाजका नेता हुन् । उनलाई ग्रामीण बैंकको स्थापना र लघु ऋण र लघुवित्तको अवधारणालाई अगाडि बढाएकोमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।









