काठमाडौं– ग्रिन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कूल निष्कासनको पाँच प्रतिशत (१ लाख ५६ हजार २५० कित्ता) सामूहिक लगानी कोषलाई र ३ प्रतिशत (९३ हजार ७५० कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले यही चैत ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट सिआस्बा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
कम्पनीले हाल ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा ५२.४ मेगावाट जडित क्षमताको ‘लिखु–४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको अनुमानित लागत १२ अर्ब ८ करोड हुने जनाएको छ ।
कम्पनीको अधिकृत पुँजी ५ अर्ब र हालको जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्तापुँजी २ अर्ब ५० करोड छ । कम्पनीले यसअघि आयोजना प्रभावित बासिन्दाका लागि ३१ करोड २५ लाख कित्ता र यो आह्वान पत्र अनुसार सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयर ९३१ लाख २५ हजार कित्ता० बाँडफाँटपछि चुक्तापुँजी ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ । यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरी सोको बाँडफाँटसमेत गरी सकिएको कम्पनीले जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था अनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी’ ग्रेडिङ प्रदान गरेको छ ।









