काठमाडौं– ग्लोबल आइएमई बैंकले नेपाल–भारतभित्रका ग्राहकलाई क्युआर सुविधा सुरु गर्न पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकलाई सामान खरिद गर्दा क्युआर मार्फत भारतपे, पेटिएम, गुगल पे लगायत विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने छ ।
उक्त सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
सेवा सञ्चालनमा आएपछि उक्त सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुने बताइएको छ । अब भारतीय बैंक तथा वित्तीय संस्था र भारतपे, पेटिएम, गुगल पेज जस्ता अन्य भुक्तानी प्रदायकबाट नेपाली र भारतीय व्यापारीबीच क्युआर पेमेन्टमार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ । बैंकका ग्राहकले पनि भारतीय व्यापारीलाई सोही सुविधा प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
त्यसैगरी, ग्राहकले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकबाट ग्लोबल आइएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न सक्नेछन् । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिने बताइएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८९ शाखा, २५४ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।









