काठमाडौं– चैते दसैंको अवसर पारेर चैत २३ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेन्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको तयारी भइरहेकोे आयोजक संस्थाले जनाएको छ ।
चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी सामान खरिदको व्यवस्था गर्न मेला आयोजना हुन लागेको बताइएको छ । अधिक रुचाइएको यो मेला बर्सेनि आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण हुन सकेको थिएन । ‘दशैंको बेला सस्तो मेला’ नारासाथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिन चल्ने बताइएको छ । एक्स्पोमा चैते दसैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामग्रीको कारोबार हुने आयोजक इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
एक्सपोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्यान्ड र जापानका उत्पादन तथा प्रदर्शकको सहभागिता रहनेछ । यसपटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ ।
‘मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन्,’ इभेन्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने ।
सम्पूर्ण उपभोग्य सामग्रीहरु एकै ठाउँबाट विशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला–जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ ।
मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ता सामान किन्न आउने र बिक्रेताको पनि राम्रो जमघट हुने विश्वास इभेन्ट सोलुसनले लिएको छ । ‘सपिङ गर्न उपभोक्ता बजारमा धेरै भौंतारिनुपर्ने अवस्था नहोस् भनेर एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं,’ प्रालिका अध्यक्ष सुनिल भण्डारीले भने । ६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्ने अनुमान आयोजकको छ ।









