संखुवासभा– निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम एक हप्तादेखि अवरुद्ध भएको छ । आयोजना प्रवेशमार्ग छ्याङकुटी–पुखुवा सडक खण्ड स्थानीयले अवरुद्ध पारेपछि काम रोकिएको हो । सो खण्डका स्थानीयले सडक विस्तारका क्रममा मुआब्जा नपाएको भन्दै आयोजनाको काम र सडकमा अवरोध गरेका हुन् ।
सात दिनदेखि आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए । आफूहरुले तीन वर्ष बित्दासमेत मुआब्जा नपाएपछि बाध्य भएर प्रवेशमार्ग र पावरहाउसको काम अवरुद्ध पारेको अध्यक्ष राईले बताए । आयोजनाले १५ मिटरको मुआब्जा दिएर ३० मिटर जग्गा अधिग्रहण गरेको अध्यक्ष राईको भनाइ छ ।
अरुण तेस्रो परियोजनाको आधाभन्दा बढी काम भइसकेको छ । स्थानीयले चैत ८ गतेबाट प्रवेशमार्ग र पावरहाउसको काम रोकिदिएका हुन् । छ्याङकुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद कायम छ । यो खण्डमा जग्गा पर्ने २०० परिवारले सरकारी मूल्य अनुसार मुआब्जा नपाएको स्थानीयको गुनासो छ ।
आयोजनाको पावरहाउस पुखुवामा भारतको पटेल इन्जिनियरिङ कन्सल्टेन्सी कम्पनीले काम गरिरहेको छ । छ्याङकुटी–पुखुवा मुआब्जा संघर्ष समिति र अरुण तेस्रो सरोकार समितिले यसअघि नै पटक–पटक मुआब्जाका विषयमा सरोकारवालालाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनीहरूले बताए । छ्याङकुटी–पुखुवा सडक खण्ड २८.५ किलोमिटर लामो छ ।
एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको आयोजनाले सन् २०२४ मा उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । अरुण तेस्रो निर्माणको काम भारतीय सतलज जलविद्युत् निगम (एसजेभिएन)ले गरिरहेको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ ।
आयोजनामा २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेका छन् । यो परियोजनामा भारतीय र नेपाली गरी तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।









