काठमाडौं– नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) सिस्टम मार्फत सर्वसाधारणले कारोबार गर्न मिल्ने समय थप गरेको छ ।
राष्ट्र बैंकले बुधबार जारी गरेको सूचना अनुसार आगामी वैशाख २ गते उप्रान्त यो काम आइतबारदेखि बिहीबारसम्म विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ः३० बजेसम्म गर्न सकिन्छ ।
छोटा दिन हुने समय कात्तिक १६ देखि माघ १५ गतेसम्म भने आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि १ः३० बजेसम्म कारोबार गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।
के हो आरटिजिएस ?
आरटिजिएस नेपाल राष्ट्र बैंकले एक बैंक वा वित्तीय संस्थाको खातामा रहेको रकम छिटो छरितो र कम खर्चिलो तरिकाले अर्को बैंकमा रहेको अर्को व्यक्ति वा संस्थाको खातामा सार्न वा भुक्तानी गर्न सञ्चालन गरेको प्रणाली हो । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टममा खातावालको आदेशका आधारमा तत्कालै एउटा बैंकमा रहेको उसको खाताको रकम अर्को बैंकमा रहेको अर्को व्यक्ति वा संस्थाको खातामा भुक्तानी वा जम्मा हुन्छ ।









