काठमाडौं– देशको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले सबैै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने सस्तो मूल्यका अल नेट भ्वाइस प्याक सेवा दिने तयारी गरेको छ ।

हाल उपलब्ध विभिन्न प्रकारका अलनेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । नयाँ सुविधा अनुसार ग्राहकले जुनसुकै नेटवर्कमा २६५ रुपैयाँमा २८ दिनसम्म ५०० मिनेट कुराकानी गर्न सकिनेछ । यसैगरी, ५५० रुपैयाँमा ३५ दिनको लागि १२०० मिनेट कुराकानी गर्न सकिने छ ।

यसैगरी, ग्राहकले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न मात्रै २५ रुपैँयामा अनलिमिटेड अल नेट डे भ्वाइस प्याक लिन सक्नेछन् । त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म २५ रुपैयाँमै अनलिमिटेड अल नेट नाइट प्याक लिन सक्नेछन् ।

साथै, आवश्यकता अनुसार ग्राहकहरुले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ मा ३० मिनेट र १५ मा १२० मिनेट कुरा गर्न अल नेट डे भ्वाइस प्याक लिन सक्नेछन् ।

यसका अतिरिक्त नेपाल टेलिकमले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । ग्राहकहरुले नेपाल टेलिकम नेटवर्क भित्र रु ५९९ मा २८ दिन सम्मको लागि पाउँदै गरेको असीमित कुराकानी प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न र १ जिबी डाटा चलाउन पाउने सुविधा थप गरिएको छ ।

साथै, ७९९ रुपैयाँमा टेलिकम भित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ । यो प्याकमा प्रतिदिन १ जिबी डाटा समेत चलाउन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

अबदेखि ९९९ र १४९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने बताइएको छ । त्यसैगरी, यी प्याकमा क्रमशः प्रतिदिन २ जिबी र ४ जिबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ । टेलिकमले पहिलेदेखि नै उपलब्ध गराइरहेका अन्य विभिन्न प्याकहरु यथावत रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय