काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा सुरु भएको काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको छ ।

गएको फागुन १७ गतेबाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनाले अन्तर्गत भिन्न भिन्न विषयवस्तु समेटेर क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरु काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच ठाउँमा प्रदर्शन भइरहेका छन् । सोको अवलोकन गर्न हजारौं जना आउने गरेको आयोजकको भनाइ छ ।

२०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड १९ संक्रमणका कारण सुरुमा तोकिएको मितिमा सुरु हुन नसकेर गत माघ २८ बाट सुरु भएको थियो । फागुन १७ बाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनाले चैत १७ सम्म चल्नेछ । काठमाडौं ट्रिएनाले २०७७ का सम्पूर्ण कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमबाट सहभागिता जनाउन सकिने गरी हाइब्रिड तरिकाले सञ्चालन भइरहेको आयोजकको भनाइ छ ।

काठमाडौं ट्रिएनाले २०७७ को आयोजना र सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण भएको सिद्धार्थ आर्ट्स फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले उक्त साझेदारी नेपालको कला र संस्कृतिको विकास तथा प्रवद्र्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुआत भनेको छ । यो साझेदारी सिद्धार्थ आर्ट्स फाउन्डेसनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट सुरू भएको थियो । ‘अकल्पनीय विश्वव्यापी चुनौतीको सामना गर्नुपरेको यस अवस्थामा यो साझेदारी हाम्रो विविधतापूर्ण समाजको उत्थानका लागि संस्कृतिले खेलेको भूमिकाप्रतिको आभारोक्ति हो । यसका साथै, यो साझेदारी अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति विस्तार गर्ने सम्भावनाको प्रमाण पनि हो,’ फाउन्डेसनले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय