काठमाडौं– गत असार, साउनको बाढीले संरचना भत्काएपछि रोकिएको मेलम्ची पानी चैतभित्रै काठमाडौं आउने भएको छ ।
मेलम्ची बाँधस्थलको अवलोकनपछि खानेपानीमन्त्री उमाकान्त चौधरीले चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं आइपुग्ने दाबी गरेका हुन् । बिहीबार उनले हेलम्बु–१ स्थित मेलम्ची खानेपानीको बाँधस्थल अवलोकन गरेका थिए । अवलोकनका क्रममा मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ ।
उनले प्राविधिक रूपमा केही कठिनाइ देखापरे पनि त्यसलाई समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौं झार्ने सरकारी लक्ष्यअनुसार काम भइरहेको बताए । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले १७ नम्बरको डेढ किलोमिटर टनेल सफा गर्न, २१ नम्बर गेट खोल्न र ९ नम्बर गेट झार्न बाँकी रहेको उल्लेख गर्दै ९ नम्बर गेट भोलि झार्ने प्रयास गरिने बताए । यसपछि मुख्य काम सकिने उनको भनाइ छ ।
सुरुङ सफा गर्ने क्रममा सुरुङभित्र सोचेभन्दा बढी लेदो भरिएको पाइएकाले सो सफा गर्ने कार्य भइरहेको ठेकेदार कम्पनी सिनो हाइड्रोका सब कन्ट्रयाक्टर एस के कन्स्ट्रक्सनका एक सञ्चालक समीर तामाङले जानकारी दिए । उनले लेदो सफा गरेको एक हप्ता जतिमै मेलम्चीको पानी काठमाडौं पु¥याउन सकिने उल्लेख गर्दै सोहीअनुसार काम गरिरहेको बताए ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय सरकार पानी पठाउन सदैव तयार रहेको बताउँदै मुहान क्षेत्रको गाउँपालिकालाई सरकारले काठमाडौं पानी पुर्याएर बिक्री गर्न थालेपछि त्यसको नाफाको प्रतिशत दिन माग गरे । शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन पाँच लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गरे ।
काठमाडौंमा पानी वितरण सुरु भइसकेपछि मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएको थियो । त्यसपछि यो आयोजना अहिलेसम्म नै ठप्प छ ।









