काठमाडौं– जलविद्युत् प्रवर्द्धकहरुलाई आयोजना विकास गर्दा वातावरणीय अध्ययन, समाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिइएको छ । हिमालयन हाइड्रो एक्स्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियाका सहभागीले आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि यस्तो आवश्यकता बढेको औंल्याएका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिशराज पाण्डेले जलवायु परिवर्तनका असर वर्तमानमा मात्र नभएर भविष्यका लागि थप चुनौतीपूर्ण हुने बताए । नेपालका अधिकांश जलविद्युत् आयोजना पहाडी इलाकामा बन्ने र संरक्षण गर्नुपर्ने क्षेत्रमै आयोजना धेरै हुँदा विकास र वातावरणलाई सन्तुलित रुपमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।

‘हामीले जलचर संरक्षण गर्न पनि त हामीले हेर्नुपछ नि ! विगतका पाठका आधारमा भावी दिनमा कार्ययोजना बनाउनुपर्ने महसुस हामीले गरेका छौं । एकीकृत जल उपयोग नीतिअनुसार नदी बेसिनमा आधारित विद्युत् विकासमा जाँदा जलको उचित व्यवस्थापन सामाजिक आर्थिक वातावरणीय कुरामा संवेदनशील बन्नै पर्छ,’ उनले भने ।

सानिमा हाइड्रोका प्रमुख डा. सुवर्णदाश श्रेष्ठले वातावारणीय सामाजिक विषयवस्तुलाई प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नु परेको दृष्टान्त प्रस्तुत गरे । ‘अब जलविद्युत्मा लगानी मात्र सोच्ने होइन वातावरण सामाजिक व्यवस्थापनमा सोच्नु पर्छ । जलवायु परिवर्तन, आयोजनाको दिगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ,’ उलने भने ।

वातावरणीय व्यवस्थापनमा वृक्षारोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्यशैली गलत रहेको टिप्पणी उनको थियो । उनले भने, ‘आयोजना बनाउँदा वृक्षरोपण कहाँ गएर गर्ने जमिन नै पाएनौं । हामी बिरुवा हुर्काउन तयार छौं । नेपालको नांगा डाडा दिनुस् न हामी खुसीसाथ गर्न तयार छौं । तर हामी आयोजना स्थलनजिकै किन्दै जाने कुराको समीक्षा गरौं ।’

डोल्मा इम्प्याक्ट फन्डका अधिकारी विद्यावारिधि सिग्देलले विदेशी लगानी ल्याउन विश्व प्रचलित मान्यता अनुसारका प्रतिवेदन खोज्ने बताउँदै पूर्वतयारीमा विशेष ध्यान दिन आग्रह गरे । कतिपय प्रवर्द्धक लाइसेन्समात्र बोकेर लगानी खोज्न आउँदा सफल नहुने गरेको उनको भनाइ थियो । स्थानीय समुदायका समस्यालाई हेर्ने दृष्टिकोणमा पनि फरक बनाउन आवश्यक रहेको औंल्याए । ‘हामी आयोजना बनाउन आफ्नै ढंगले बसेका शान्तरुपमा बसेका अरुको समाजमा छिर्दैछौं । अनि स्थानीयमाथि हामीले पनि त एक खाले हस्तक्षेप गर्दैछौं । खोलै घुमाउन खोज्छौं त्यसको असर उनीहरुले भोगेका समस्या सामान्य कुरा होइन भन्ने बुझौं,’ उनले भने ।

एनएमबी बैंकका शरद तुलाधरले वातावरण र समाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको अपेक्षा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय