काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बैंक सञ्चालक समितिमा साधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकद्वय राजेन्द्रप्रसाद अर्याल र विनोदकुमार प्याकुरेलको ठाउँमा नयाँ अनुहार ल्याएको छ ।
सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले गत असोजमा सञ्चालक समिति बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा श्रीमती विजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा त्यसलाई अनुमोदन समेत गरेको छ ।
बैंकको वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा संस्थापक र सर्वसाधरण सेयरधनीको तर्फबाट प्रतिनिधित्व ३–३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीको तर्पmबाट तुलसीराम अग्रवाल, त्रिलोकचन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीको तर्पmबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।
सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्रप्रसाद अर्याल र विनोदकुमार प्याकुरेललाई उनीहरुले बैंकको प्रगतिमा गरेको योगदानको कदर गरेको छ । साधारणसभा सम्पन्न भएपछि बसेको नवनिर्वाचित सञ्चालक समितिको बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।









