काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार, वीरगन्जमा उक्त साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि प्रतिसेयर ०.७३६८ रुपैयाा नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ हुने विज्ञप्तिमा उल्लेख छ ।

सभामा अध्यक्ष गोविन्दलाल स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समीक्षा वर्षमा कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गरेको जानकारी गराएका थिए । अध्यक्ष संघईले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीबीच अझै नयाँ उचाइमा अगाडि बढाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यकासाथ कम्पनी अगाडि बढेको जानकारी गराउनु भयो ।

सभाबाट २०७६–०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरण एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव पारित भएको छ । सभामा संस्थापक सेयरधनीका तर्फबाट निर्विरोध निर्वाचित चारजना सञ्चालकको नाम पनि घोषणा गरिएको थियो । सो अनुसार निर्विरोध निर्वाचित हुने संस्थापक सञ्चालकमा गोविन्दलाल संघई, कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल र शक्तिकुमार गोल्यान छन् । साधारणसभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ३३६औं बैठकले नवनिर्वाचित सञ्चालक गोविन्दलाल संघईलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको कम्पनीले जनाएको छ ।

हाल उक्त कम्पनीको लगानी १३३.८६ अर्ब रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । जीवन बीमाकोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी छ । कम्पनीमा २लाख भन्दा बढी प्रशिक्षित अभिकर्ता छन् । हाल कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर २ सय २ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । उक्त कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी ३० लाखभन्दा बढी बीमित छन् । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेव, सुविधा उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय