काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
हिले बजारमा आयोजित एक कार्यक्रमबीच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिलबहादुर घलेले उक्त काउन्टर उद्घाटन गरेको बैंकले जनाएको छ । हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टर संख्या ५० पुगेको छ ।
सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । उनले बैंकलाई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेको समेत बताए ।
त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्न बैंकको सहयोग आवश्यक रहेको बताए ।
वडाअध्यक्ष तुलबहादुर घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गर्दा गाउँपालिकाका ६, ७, ८ र ९ वडा तथा बेसीसहर नगरपालिकाका केही वडाका बासिन्दाहरु बैंकिङ सेवाबाट लाभान्वित हुने बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालयका प्रतिनिधिहरु, व्यवसायी र स्थानीय बासिन्दाको ठूलो संख्यामा उपस्थिति थियो ।
बैंकले मुलुकभर २८८ शाखा, २७४ शाखारहित बैंकिङ सेवा, २५६ एटिएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।









