काठमाडौं– एभरेस्ट लार्ज कार्डमम इन्डस्ट्रिज गत आर्थिक वर्ष २०७७–७८ को नेपालकै सबैभन्दा उत्कृष्ट निर्यातकर्ता भएको छ । राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा उक्त उद्योगलाई स्वदेशी अलैंची प्रशोधन र निर्यात क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष्य तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्पनी अध्यक्ष निर्मल भट्टराईलाई सम्मानपत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन् ।
नेपालमै फलेको अलैंचीलाई विभिन्न प्रोसेसिङ, लेबलिङ र प्याकेजिङ गरी निर्यात गरिरहेको यो उद्योगले गत वर्ष २८ करोड रुपैयाँ बराबरको अलैंची निर्यात गरेको थियो ।
नेपाल सहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेस्ट लार्ज कार्डममको प्रशोधन उद्योग अर्जुनधारा नगरपालिका–८, झापामा छ । उद्योगमा भट्टराई सहित अन्य तिन व्यवसायीः सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी रहेको छ ।
उद्योगले अहिले मिजाज माउन्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैंची दाना र मिजाज अलैंची गरी चार अलैंचीका प्रकार उत्पादन गर्दै आएको छ ।









