काठमाडौं– नेपालले भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा उक्त परिमाणको थप बिजुली बेच्न नेपाललाई अनुमति दिएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी भारतले नेपाललाई थप ३२५ मेगावाट बिजुली आफ्नो बजारमा बेच्न अनुमति दिएको बताइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुली त्यहाँको ‘डे अहेड’ मार्केटमा बेच्न अनुमति दिएको हो ।
१४४ मेगावाटको कालीगण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको ६८ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालयले जानकारी दियो ।
त्यसैगरी, ग्रिन भेन्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत् आयोजनाको ५० मेगावाट बिजुली बेच्ने अनुमति पनि भारतले दिएको छ । यसअघि नै भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनाको बिजुली आफ्नो बजारमा बेच्न अनुमति दिएको छ ।









