काठमाडौं– सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । गभर्नर अधिकारीले केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको सरकारको आरोप छ ।

गभर्नर अधिकारीलाई शुक्रबारै निलम्बनको पत्र बुझाएर अर्थ मन्त्रालयले डेपुटी गभर्नर नीलम ढुंगानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्र बैैंकको संवेदनशील सूचना चुहाएकाले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेसँगै उहाँ स्वतः निलम्बनमा परेका हुन् ।

गभर्नर अधिकारीको छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।
गभर्नर पदका लागि काबिल मानिएका तथा लामो समय केन्द्रीय बैंकमा काम गरेका अधिकारी हटाउने प्रक्रिया सुरु हुनुलाई आश्चर्य मानिएको छ ।

सरकारले उनीमाथि संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यक्रममै गभर्नर अधिकारीले सूचना चुहाएको बताएका छन् ।

माओवादी निकट पृथ्वीबहादुर शाहको नाममा अमेरिकाबाट आएको रकम नरोक्न निर्देशन दिएको विषयलाई मिडियामा ल्याएर आफ्नो बदनाम गराउन खोजेको भन्दै अर्थमन्त्री गभर्नरसँग रिसाएका हुन् ।

सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरी रोक्नु नपर्ने भनेको शाहको ४० करोड रुपैयाँ नरोक्न अनुरोध गर्दा गभर्नर अधिकारीले मिडियाबाजी गर्दै हिँडेको अर्थमन्त्री शर्माले सार्वजनिक समारोहमै बताएका थिए । सेयर कर्जामा ४ र १२ करोडको सीमा तोकेको तथा एलसीमा नगद मार्जिनको व्यवस्था गरेको विषयमा पनि गभर्नर अधिकारीले अर्थलाई जानकारी नदिएको शर्माको गुनासो थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय