काठमाडौं– रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेल लगायत वस्तुको मूल्य अत्यधिक धेरै भएको हो ।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथी आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकोले मार्चमा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको बताइएको छ ।
युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटक पटक आग्रह पनि गर्दै आएको छ ।









