काठमाडौं– नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले नयाँ वर्षको अवसरमा नयाँ लोगो अनावरण गरेको छ ।

यो नयाँ ब्रान्ड पहिचानले फुडमाण्डुको नयाँ विचारलाई सधैं अघि ल्याउने इतिहासलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ । यो रिब्रान्डिङको उद्देश्य ब्रान्डलाई अझ रमाइलो, उज्यालो र हर्षका साथ अघि लग्दै फुडमाण्डुको नयाँ युगको सुरुआत गर्ने रहेको बताइएको छ ।

‘हामी हाम्रो मूल्य, मान्यता र उद्देश्यलाई धेरै महत्त्व दिन्छौं । हाम्रो नयाँ पहिचानले यस भावना प्रतिबिम्बित गर्दछ भन्ने हाम्रो विश्वास छ,’ फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक, मनोहर अधिकारीले भनेका छन् ।

कम्पनीका अनुसार लोगोमा रहेको बाफको आकृतिले फुडमाण्डुको ग्राहकले ताजा खाना खाँदाको खुसी अनुभवलाई जनाउँछ । नयाँ रङ छनोटका बारेमा फुडमाण्डुका ब्रान्ड र मार्केटिङ प्रमुख श्यामरत्न माली भन्छन्, ‘पहेँलोलाई हामीले मुख्य ब्रान्ड रङको रुपमा रोजेका छौं । यसले उत्साह, खुसी, र ऊर्जालाई प्रतिनिधित्व गर्दछ । हाम्रो लागि पुरानो रङहरु रातो र हरियोलाई छोड्ने निर्णय सजिलो थिएन तर परिवर्तनको सही समय भएको हामीले महसुस गर्यौं ।’

२०१० मा स्थापना भएको फुडमाण्डु नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी भएको विज्ञप्तिमा उल्लेख छ । फुडमाण्डुले हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखराका ८०० भन्दा बढी रेस्टुरेन्टबाट फुड डेलिभरी गर्छ । यसरी नै फुडमाण्ड फ्रेसले ग्रोसरी डेलिभरी र फुडमाण्डु बारले पेय पदार्थ पनि डेलिभरी गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय