काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा २ करोड ३६ लाख २५ हजार मूल्य बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण सेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । बाँडफाँडमा बाँकी छ कित्ता सेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले ६ जनालाई बाँडिएकोे छ ।

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीलाई र निष्कासित सेयरको ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गतेदेखि ३० सम्म आवेदन दिएका थिए । बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो सेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय