काठमाडौं– सरकारले विदेशी विनिमय सञ्चिति घटेको भन्दै आयात नियन्त्रण गर्न खोजे पनि त्यसमा असफल देखिएको छ ।
गत चैतमा पनि अघिल्ला ८ महिनाकै औसतमा विदेशबाट सामान आएपछि आयात नियन्त्रण गर्ने सरकारी प्रयास सफल हुन नसकेको पुष्टि भएको हो । फागुनसम्म मासिक औसत १ खर्ब ६३ अर्ब ५९ करोडको वस्तु आयात भइरहेको थियो । चैतमा पनि झन्डै सोही बराबर १ खर्ब ६२ अर्ब ९६ करोडका वस्तु आयात भएको छ ।
विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले गत पुसदेखि आयात नियन्त्रणको प्रयास गरेको थियो । पुसमा नेपाल राष्ट्र बैंकले सवारीसाधन र विलासी वस्तु आयातको लागि एलसी खोल्दा केहीमा ५० प्रतिशत र केहीमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
चैत २२ गतेदेखि त सवारी साधन र विलासी वस्तु आयातको एलसी नै नखोल्न केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई मौखिक निर्देशन दिएको छ ।
चैतको आयात पुस मसान्तसम्मको मासिक औसत आयातभन्दा थोरै मात्र कम हो । निर्वाध आयात गर्न पाइने पुससम्मको मासिक औसत आयात १ खर्ब ६६ अर्ब ५५ करोड छ । सोको तुलनामा चैतको आयात ३ अर्ब ५९ करोड मात्रैले कम हो ।
चालु आर्थिक वर्षको चैतसम्ममा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको वस्तु नेपालमा आयात भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.९७ प्रतिशत बढी हो ।
यस अवधिमा निर्यात ६९.४४ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब ५७ करोड नाघेको छ । नौ महिनाको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८९ करोडभन्दा बढी छ ।
चैतसम्ममा कुल वैदेशिक व्यापार पोहोरको तुलनामा ३४.९१ प्रतिशतले बढेर १६ खर्ब २७ अर्ब २३ करोड नाघेको छ ।
दुई खर्बको पेट्रोलियम पदार्थ आयात
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो नौ महिनाको तथ्यांकअनुसार नेपालले २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।
नौ महिनाको अवधिमा नेपालले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यास गरी १ खर्ब ९८ अर्ब ५५ करोडको आयात गरेको हो । तथ्यांक अनुसार नौ महिनामा सबैभन्दा बढी डिजेल आयात भएको छ । यस अवधिमा १ खर्ब ५ अर्ब ९७ करोडभन्दा बढीको डिजेल र ४७ अर्ब २३ करोडभन्दा बढीको पेट्रोल आयात भएको हो ।
यसअवधिमा ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । नौ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाबिन तेल, ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ ।
१६२ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ ।
तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने १ खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ ।









