काठमाडौं– नेपालको कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनी एससिटी (स्मार्ट च्वाइस टेक्नोलोजिज)ले सेवाको गुणस्तर सुधार्ने घोषणा गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ ।
नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।
एससिटी नेपाललाई पहिलोपटक विल्कुलै नयाँ इन्टग्रेटेड सेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शकको रुपमा छ । एससिटीले आफ्ना आयामहरुलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवालाई एउटै छातामुनि एकीकृत गरेको जनाएको छ ।
यसले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटिएम र पिओएसको परस्पर सम्बन्ध, बिएफआईहरूबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरूको गेटवे, क्युआरसी भुक्तानी प्लेटफर्म र यसमार्फत वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
‘हामीले हाम्रो पोर्टफोलियोमा थपेका हाम्रो नयाँ सेवाहरू अगाडि ल्याउन पाउँदा हामी उत्साहित छौं । नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मदत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले संकेत गर्छ । क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिँदै आइरहेको ‘इभेन्टमा’ हाम्रो लोगो र सेवाहरू सार्वजनिक गर्नु यस इभेन्टभन्दा उचीत अवसर अरू कुनै हुन सक्दैन,’ कम्पनीका सिइओ नारायणप्रकाश भुजुले भने ।
सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्कको रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो । एससिटीले नेपालका अधिकांश वाणिज्य बैंक, विकास बैंक, पिएसपी (पेमेन्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थालाई विभिन्न कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँछ । एससिटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेस्नल, पल्स नेटवर्क र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।









