चितवन– उद्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुन सक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार यहाँ उद्घाटन समारोहमा बोल्ने वक्ताले नीतिगत रुपमै स्वदेशी औषधि उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।
कतिपय देशले आफ्नो देशमा उत्पादन हुने औषधि आयातमा रोक लगाएको भन्दै उनीहरुले नेपालमा पनि यसको सिको गर्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मागको ५० प्रतिशत धान्न सक्ने अवस्थामा नेपाली औषधि उद्योग पुगेको जनाउँदै स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्न सकेमा ९० प्रतिशत आत्मनिर्भर बन्न सक्ने बताए ।
उनले भने, ‘सरकारको नीति स्वदेशी उद्योगमैत्री हुनु पर्यो ।’ जति पनि ऐन कानुन छन् ती उद्योग व्यवसाय प्रोत्साहन हुने गरी बन्नुपर्ने उनको भनाइ थियो । प्रतिकूलताका बीच नेपाली उद्योगले काम गर्नुपर्ने बाध्यता रहेको गोल्छाले बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले राज्यका तर्फबाट स्वदेशी उद्योगलाई अभिभावकत्व ग्रहण गरिदिनुपर्ने बताउनुभयो । औषधि उत्पादक सङ्घका अध्यक्ष डा प्रज्वलजंग पाण्डेले नेपाली औषधि निर्यात हुन थालेको भन्दै सरकारले नीतिगतरुपमा नै सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सरकारले सहयोग गरेमा ९० प्रतिशतभन्दा बढी औषधि यही उत्पादन गर्न सक्छौं ।’
संघका निर्वतमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले औषधिमा विदेशमा भर पर्न नहुने भन्दै आत्मनिर्भर हुनका लागि सरकारी तवरबाट सहयोगको आह्वान गरे । सबैले सुन्ने र हुन्छ भन्ने तर कसैले कार्यान्वयन नगर्दा नेपाली उद्योग समस्यामा रहेको उनको भनाइ थियो । संघका पूर्वअध्यक्ष दीपक दाहालले नेपालमा ७२ उद्योगले औषधि उत्पादन गरिरहेका र ३२ वटा स्थापनाको क्रममा रहेको जनाउँदै यहाँका उद्योगले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा विशेष ध्यान दिएको बताए ।
अहिले केही उद्योगले ७५ प्रतिशतसम्म माग धान्न सक्ने भन्दै उनले यहाँ उत्पादित औषधि आयातमा रोक लगाउनुपर्नेमा जोड दिए । भारत सरकारले भर्खरै मात्र औषधि उद्योगलाई भारतीय रुपैयाँ १ खर्ब ५० अर्ब अनुदान दिएको उनले सुनाए । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।
संघका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अंगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । उनले भने, ‘एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिनेछ ।’ एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ ।
औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनले बताए । नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासको प्रत्येक दुई वर्षमा एक्स्पो गरिँदै आएको छ । सन् २०२१ मा हुनुपर्ने एक्स्पो भने कोभिडका कारण हुन सकेको थिएन ।
यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहेका छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । संघले आज राष्ट्रिय योजना आयोग, औषधि उत्पादक, बिक्रेता, पत्रकारबीच अन्तक्र्रिया कार्यक्रम गर्दैछ ।
एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसिएसन र नेपाल फार्मेसी संघको आबद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।









