काठमाडौं– बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने आसपासका बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अंकित दरका १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेकोे हो ।
कम्पनीले आफ्नो जारी पुँजी (एक अर्ब) को १० प्रतिशतले हुने १० लाख कित्ता सेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका–८ र ९ का बासिन्दाका लागि ७ लाख कित्ता सेयर सुरक्षित गरेको छ । साथै बाँकी ३ लाख कित्ता क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दालाई छुट्ट्याइएको कम्पनीले जनाएको छ ।
सार्वजनिक आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आजदेखि वैशाख २५ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी जेठ ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ए ८.८ मेगावाट र रुदी बी ६.६ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ ।
स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको बिरौटा तथा पोखरा शाखा, सिभिल बैंकको लमजुङको मालिङ शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसीशहर शाखा र आयोजनाको कार्यलयस्थलबाट आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–आईआर बीबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।









