काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयाँ सेवा सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी गराए ।

सभामा अध्यक्ष ढकालले कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशतभन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदै गएको र विदेशी मुद्रा सञ्चिति घट्दो अवस्थामा रहेको, अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरु ऋणात्मक रहेको चर्चा गरे । रेमिट्यान्स आप्रवाह घटिरहेको र लगानीयोग्य पुँजी (तरलता) को अभाव चरम रहेको पनि उनले जानकारी गराए ।

सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७–०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गरेको पनि जानकारी गराए । उनका अनुसार कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको छ ।

चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्सा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको पनि जानकारी गराए ।

कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पुँजी २.५० अर्ब पुर्याउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन बमोजिम पुँजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको जानकारी गराए ।

हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औं साधारणसभाबाट पारित भएको हुनाले उल्लेखित बोनस सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने व्यहोरा जानकारी गराए । सभाले सञ्चालक समितिबाट प्रस्तुत साधारण तथा विशेष प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औं वार्षिक साधारणसभामा सेयरधनीलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकाय र कर्मचारीको सहयोगबाट आज बीमा बजारमा अग्रणी कम्पनीको रुपमा स्थापित भइरहेको जानकारी गराए । यसलाई निरन्तरता दिन कम्पनी सदा तत्पर रहने बाचा पनि गरे । लगानीकर्ताको भावना र सञ्चालक समितिको निर्देशनले अगाडि बढिरहेको उनको भनाइ छ । बीमाको पहुँचलाई देशको सबै क्षेत्रमा पुर्याउने हेतुले कम्पनीले ७ वटै प्रदेशबाट ग्राहकलाई बीमा सेवा प्रदान गरिरहेको उनले बताए ।

बीमा अर्थतन्त्रको एक उत्कृष्ट हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आइरहेको उनको भनाइ छ । आगामी दिनमा शाखा विस्तार भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको उनले बताए । आर्थिक वर्ष २०७६–७७ मा १ अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १ अर्ब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराए । कम्पनीले गत चैतसम्ममा कुल १ अर्ब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय