काठमाडौं– स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा २ हजार ९ जनाको मनोनयन दर्ता भएको छ ।
यस्तै, पालिका अध्यक्षमा ३ हजार २६४ र उपाध्यक्षमा २ हजार २९६ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।
आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साह पूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।
वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।









