काठमाडौं– रुसी विदेशमन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरे तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन् ।
लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्तिवार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ । उनले भने, ‘सद्भावनाको सीमा हुन्छ । तर यदि यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मदत गर्दैन ।
टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भर्खरै भएको बैठकमा लाभरोभले किभले अघिल्लो अडानबाट बाहिरिएको सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।
यसबाहेक लाभरोभले रुसले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिएका छन् । तर जेलेन्स्कीले शान्तिवार्ताको नाटक मञ्चन गरिरहेको उनको आरोप छ ।
लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बाहिर सुनिए जत्तिकै वास्तविक रहेको समेत चेतावनी दिएका छन् । ‘खतरा गम्भीर छ, यो वास्तविक हो,’ लाभरोभले भनेका छन् ।









