काठमाडौं– कोरोना महामारीले खुम्चिएको आर्थिक गतिविधि र मुख्य बाली धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गराएको क्षतिका बाबजुद यसपालि नेपाली अर्थतन्त्रको वृद्धिदर ५.४९ प्रतिशत रहने अनुमान केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको छ ।

विभागले चालु आर्थिक वर्ष २०७८–७९ को ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो । गत आर्थिक वर्ष २०७७–७८ को आर्थिक वृद्धिदर ३.८३ प्रतिशत हुने संशोधित अनुमान पनि विभागले सार्वज्निक गरेको छ । आर्थिक वर्ष २०७६–७७ को आर्थिक वृद्धिदर भने २.४२ प्रतिशत ऋणात्मक रहेको अन्तिम अनुमान छ ।

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर तथ्यांक विश्लेषण गर्दा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्र र द्वितीयको क्षेत्रको योगदान केही बढ्न गएको देखिएको पनि विभागले जनाएको छ । तर प्राथमिक क्षेत्रको योगदानमा गत आर्थिक वर्षभन्दा कमी आएको देखिन्छ ।

प्राथमिक क्षेत्रमा कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्र पर्छन् । ‘चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४.५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८–७९ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । चालु आर्थिक वर्षमा धानबालीको उत्पादनमा भएको ह्रासले गर्दा यस क्षेत्रको उत्पादनमा गत आर्थिक वर्षको भन्दा कम वृद्धि दर रहेको हो ।

द्वितीय क्षेत्र अन्तर्गत उद्योग, विद्युत् तथा ग्यास, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्छन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १३.७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८–७९ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा १०.२९ प्रतिशत रहने प्रारम्भिक अनुमान विभागको छ । खासगरी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत आर्थिक वर्षको अन्त्यदेखि विद्युत् उत्पादन सुुरू, निर्माण कार्यमा वृद्धि तथा औद्योगिक उत्पादनमा वृद्धि आदिका कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ( वृद्धिदरमा सकारात्मक प्रभाव पारेको बताइएको छ ।

सेवा क्षेत्र अन्तर्गत थोक तथा खुद्रा व्यापार, अवास तथा भोजन सेवा, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेसागत तथा प्रशासिनक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू पर्छन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ६१.८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ को तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५.९३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । कोभिड १९ को महामारीले ऋणात्मक भएका अवास तथा भोजन सेवा र यातायात क्षेत्रका आर्थिक क्रियाकलापमा भएको वृद्धि तथा व्यापार तथा निर्माण क्रियाकलापमा भएको वृद्धिको कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बढी भएको विभागले जनाएको छ ।

सरकारले भने बजेटमार्फत चालु आर्थिक वर्षको जिडिपी वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य राखेको थियो । केही साताअघि विश्व बैंकले नेपालको यो वर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोषले भने दुई दिनअघि मात्र यो वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय