विराटनगर– केही दिनदेखि पूर्वसूचना बेगर १२ घन्टासम्म विद्युत् कटौती झेल्दै आएको पूर्वको औद्योगिक क्षेत्रमा गत दुई दिनदेखि २४ सै घण्टा विद्युत् आपूर्ति ठप्प भएको छ ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त विज्ञप्ति जारी गरी उद्योग सञ्चालनमा अक्सिजनको भूमिका निर्वाह गर्ने बिजुली बिनासूचना पटकपटक कटौती गर्दा उत्पादनको क्रममा रहेका कच्चा पदार्थ खेर जानुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ उत्पन्न भएको जनाएका छन् । यस्तो अवस्था रही रहे अति आवश्यक वस्तु लगायत सम्पूर्ण उत्पादन प्रक्रिया नै ठप्प भई आपूर्ति शृखंलामा अवरोध आउन सक्ने चेतावनी उनीहरुले दिएका छन् ।

उनीहरुले समस्या समाधानका लागि सुझाव पनि अघि सारेका छन् । तीनवटा संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने, स्वदेशी विद्युत् उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने, बिजुलीको न्यायोचित वितरण गर्नुपर्ने जस्ता माग अघि सारेका छन् ।

त्यसैगरी, विद्युत् आपूर्ति बन्द भई कलकारखाना नै ठप्प भएको समयमा विद्युत् डिमान्ड शुल्क लगाउनु उपयुक्त नभएकोले उक्त समयको डिमान्ड शुल्क खारेज गर्न र विद्युत् संकट टार्न कुटनीतिक पहलबाट समाधान खोज्न पनि आग्रह गरेका छन् । विज्ञप्तिमा नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका कार्यबाहक अध्यक्ष प्रदीप मुरारका र मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय