काठमाडौं– भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा यस शनिबार एउटा भिन्नै प्रकारको रौनक थियो । उक्त रौनक थियो– नमस्ते ईद २०२२ को ।
ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना गरिँदै आएको उत्सवको यो चौथो संस्करण थियो । नमस्ते ईद नेपालमा मनाइने एकमात्र र सबैभन्दा ठूलो बहुसांस्कृतिक उत्सव हो जसले रमजान उपवास महिनाको अन्त्य भएको र ईद–उल–फित्र उत्सवको जनाउ दिन्छ । ईद मूलतः एक महिनाको व्रत पूरा गरेपछि मनाइने पर्व हो ।
’नमस्ते ईद’को मूल उद्देश्य बहुसांस्कृतिक कार्यक्रमको रुपमा ईद मनाउने नेपालीको सकारात्मक मनोबल दर्शाउनु हो । कार्यक्रमले सांस्कृतिक सुन्दरता, विविधता र एकता झल्काएको थियो । उत्सवको मुख्य आकर्षणको रुपमा नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन सो’ रहेको थियो ।
साथै, नेपालस्थित अमेरिकी दूतावासकी सांस्कृतिक मामिला अधिकृत साराह जास्मिन नाइट, अभिनेत्री ऋचा शर्मा र मिस नेपाल २०१० तथा मिडिया पर्सनालिटी सदिक्षा श्रेष्ठ जस्ता चर्चित व्यक्तित्वहरू मोडलसँगै र्याम्पमा देखिएका थिए । उत्सवमा प्रोजेक्ट सारंगीका संस्थापक किरण नेपालको विशेष सांगीतिक प्रस्तुति थियो ।
कार्यक्रममा हलाल आउटलेट, हेन्ना आटिस्टदेखि पर्फयुम र पहिरन लगायतका स्टलहरू थिए । कार्यक्रममा किड्स जोन, खेलकुद, सुफी तथा कवाली र नृत्य प्रस्तुतिसमेत रहेका थिए । काठमाडौं उपत्यकाका मेयर उम्मेदवारद्वय बालेन शाह र केशव स्थापितसमेत उत्सवमा सहभागी भएको आयोजकले जनाएको छ ।
साथै, मिथिलेश झा, युवराज शर्मा, रोनाली अमात्य, सञ्जय गुप्ता, दीपाञ्जली लामा शाहलगायत समाजमा विभिन्न पेशा र क्षेत्रबाट योगदान पुर्याएका चर्चित व्यक्तित्वहरु पनि उत्सवमा सहभागी थिए ।
सफलतापूर्वक उत्सव सम्पन्न भएपछि कार्यक्रमकी संस्थापक तथा निर्देशक फैजा परवीन भन्छिन्, ‘सबै पृष्ठभूमिका मानिसहरूलाई सहभागी गराउने उद्देश्यले खुला बहुसांस्कृतिक कार्यक्रमका रुपमा सन् २०१७ देखि हामीले नमस्ते ईद आयोजना गर्न थालेका हौं । यसको उद्देश्य अन्तरविश्वास, समझदारी, मित्रता र बहुसांस्कृतिक प्रववर्द्धन गर्ने पनि रहेको छ । नेपालका विभिन्न समुदायबीच विविधतामा एकता र मेलमिलाप झल्काउनु र सांस्कृतिक उत्सवको माध्यमबाट स्थानीय समुदायलाई मजबुत र एकतावद्ध बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो ।’









