घोराही– दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।
नेकपा (एमाले) बाट उम्मेदवार बनेका चौधरीकोे काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिएका छन् ।
बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोसम्बन्धी रोगबाट पीडित थिए । यसअघि उनी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएका थिए । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासि बिरामी परेका थिए ।
उनलाई उपचारका लागि दुईपटक नेपालगन्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सन्चो नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।









