काठमाडौं– गत चैतमा महँगी ७.२८ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको छ । यो अघिल्लो वर्ष चैतको तुलनामा दोब्बरभन्दा पनि बढी हो ।

पोहोर चैतमा उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत थियो । चैतमा खाद्य तथा पेय पदार्थ समूहको महागी ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी ७.१८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो महिनाको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ ।

२०७७ चैतको तुलनामा २०७८ चैतमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनासम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा उल्लेख छ ।

चैतमा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि भने १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ६.१४ प्रतिशत थियो । चैतमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । सोही महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय