काठमाडौं– गत चैत मसान्तमा विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६१ करोड डलर कायम भएको छ । गत असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको विदेशी मुद्रा सञ्चिति चैत मसान्त हुँदा १८.२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड कायम भएको हो ।

नेपाली रुपैयाँमा भने गत असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेर चैत मसान्तमा ११६७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तको १२४४ अर्ब ६३ करोड रुपैयाँबाट चैत मसान्तमा १०२१ अर्ब ४५ करोड कायम भएको छ । यो १७.९ प्रतिशतको गिरावट हो । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत मसान्तमा ५.१ प्रतिशतले कमी आई १४६ अर्ब ४८ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको भनाइ छ । गत चैत्र मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत छ । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय