काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमास हुँदा जीवन बिमा कम्पनीहरूको औसत नाफा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले घटेको पाइएको छ । सञ्चालनमा रहेका १९ वटा जीवन बिमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्म उनीहरुको कुल नाफा २ अर्ब २१ करोड ८० लाख रुपैयाँ छ ।
यो अघिल्लो आवको सोही अवधिको दाँजोमा ९४ करोड ४६ लाख रुपैयाँ कम हो । गत आर्थिक वर्षको चैत मसान्त हुँदा जीवन बिमा कम्पनीहरूले ३ अर्ब १६ करोड २६ लाख रुपैयाँ नाफा कमाएका थिए ।

१९ जीवन बिमा कम्पनीमध्ये ७ कम्पनीको नाफा घटेको छ भने नेपाल लाइफ इन्स्योरेन्स घाटामै गएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को नाफा ९६.१० प्रतिशतले, युनियनको ६६.९४, नेसनलको सूर्याको ३८.४६, मेटलाइफको ३०.०७, प्रभुको २६.४८, नेसनलको २०.७६ र प्राइमलाइफको १७.०९ प्रतिशतले घटेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले त सो अवधिमा १९ करोड ४५ लाख रुपैयाँ बेहोरेको छ । गत आर्थिक वर्षसम्म नेपाल लाइफ नाफाको पहिलो नम्बरमा थियो ।
११ जीवन बिमा कम्पनीको नाफा भने पोहोरको तुलनामा बढेको छ । नाफा बढाउनेमा रिलायन्सको ८२.९२, ज्योतिको ७०.९९, सन नेपालको ५०.२५, सानिमाको ४२.८३ र गुराँसको २६.१९ प्रतिशतले बढेको छ । त्यसैगरी, महालक्ष्मीको ८.४१, रिलायबल नेपालको ३.५५, राष्ट्रिय बिमा संस्थानको २.१६, आइएमई लाइफको १.८६, एसियन १.०७ र सिटिजन लइफको ०.४० ले नाफा गरेको छ ।
सेयरबजारमा गिरावट आउँदा बिमा कम्पनीहरूको नाफा घटेको बताइन्छ । बिमा कम्पनीहरूले विभिन्न कम्पनीका सेयरमा लगानी गरेको हुने र पछिल्लो समय सेयर बजार ओरालो लागेकाले बिमा कम्पनीको नाफा घटेको बिमा कम्पनीका अधिकारीहरु बताउँछन् ।










