काठमाडौं– सरकारले घरजग्गाको कारोबारलाई नियमन गर्ने भएको छ । अत्यधिक रुपमा घरजग्गाको कारोबार भएको र अनधिकृत रुपमा मूल्यवृद्धि भएको गुनासोबीच सरकारले त्यसलाई नियमन गर्न लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार हुने व्यवस्था मिलाइने उल्लेख छ । घरजग्गाको कारोबारका लागि नियमन गर्न छुट्टै संस्था बनाउने सरकारको योजना छ ।
विद्यमान व्यवस्थानुसार राजस्वको छली तथा वास्तविक कारोबारको विवरणसमेत थाहा नहुने भएकाले छुट्टै संस्था स्थापना गर्न लागिएको हो ।
त्यस्तै, सरकारले लेखापरीक्षणलाई वस्तुगत र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोग तथा लेखापरीक्षकको क्षमता अभिवृद्धि गर्ने बताएको छ । आर्थिक पारदर्शिता र वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्दै बेरुजु कम गर्ने लक्ष्य राखिएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकांक्षालाई पूर्ण रुपमा आत्मसात गरेको उल्लेख गरिएको छ । कार्यक्रमको कार्यान्वयनबाट कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि भई सबल अर्थतन्त्र निर्माण हुने सरकारको विश्वास छ ।









