काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले अग्रणी चार्टर्ड एकाउन्टेन्ट स्वर्गीय तीर्थराज उपाध्यायको योगदानको स्मरण गरेको छ । संघले उपाध्यायको निधनको १३औं पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरी उनीप्रति सम्मान व्यक्त गर्नुका साथै योगदानको स्मरण गरेको हो । सीए उपाध्यायको अमेरिकामा छोरी भेट्न गएका बेला वैशाख ३० गते मस्तिष्कघातबाट निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्वअध्यक्षहरु, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष तथा पूर्वअध्यक्षहरु, नेपाल अडिटर एसोसिएसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षकमान बोर्डका अध्यक्ष, पार्षदहरु, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्यहरु, सदस्य तथा स्वर्गीय उपाध्यायका परिवारका सदस्य, आफन्तजन, व्यावसायिक साझेदार गरी करिब १०० जनाको उपस्थिति थियो ।

संघका महासचिव तेजप्रसाद सुवेदीले सञ्चालन गरेको सभामा संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, राष्ट्र बैंकका गभर्नर अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष भाष्करसिंह लाला, लेखापरीक्षकमान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठ, लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापा, नेपाल अडिटर एसोसिएसनका अध्यक्ष, स्वर्गीय उपाध्यायका साझेदार शशि सत्याल, संघ तथा संस्थाका पूर्वअध्यक्ष रत्नराज बज्राचार्य लगायतले शोक मन्तव्य दिएका थिए ।

श्रद्धाञ्जली सभामा संघले स्वर्गीय उपाध्यायसँग सिए बायोग्राफीको लागि लिएको अन्तर्वार्ताको भिडियो क्लिप पनि देखाइएको थियो । स्वर्गीय उपाध्यायका छोरीहरु प्रिती र शिखा उपाध्यायले अमेरिकाबाट पठाएको लिखित सन्देश पढेर सुनाइएको थियो । सो अवसरमा संघले तयार पारेको समवेदनापत्र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले स्वर्गीय उपाध्यायका व्यावसायिक साझेदार सत्याल र भाउजु कल्पना उपाध्यायलाई हस्तान्तरण गरे । स्वर्गीय उपाध्यायको १३औं दिनको पुण्यतिथिमा अमेरिकाको मेरिल्यान्डमा पनि श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

सप्तरी जिल्लाको दुर्गम गाउँमा २००४ माघ २७ मा जन्मेका तीर्थराज उपाध्यायले भारतको मुम्बईबाट चार्टर्ड एकाउन्टेन्ट्सको अध्ययन पूरा गरेका थिए । मुम्बईबाट अध्ययन सकेर स्वदेश फर्केपछि दाजु कुवेर शर्माको कम्पनीमा लेखा व्यवसाय सुरु गरे । पछि आफैंले ‘टिआर उपाध्याय एन्ड कम्पनी’ दर्ता गरी लेखा व्यवसाय अघि बढाएका थिए ।

उपाध्याय भारतबाट सीए पढेर नेपाल आउँदा यहाँ १२–१५ जनाभन्दा धेरै सीए थिएनन् । स्वर्गीय उपाध्याय नेपाल लेखामान बोर्डको पहिलो अध्यक्ष थिए भने आइक्यान गठन हुँदा कोमल चित्रकार पहिलो अध्यक्ष र उनी पहिलो उपाध्यक्ष थिए । उनीहरूको कठिन मेहनतबाट स्थापना भएको संघको पनि उनी अध्यक्ष रहेको संघले जनाएको छ । स्वर्गीय उपाध्यायले लेखा व्यवसायमा पु¥याउनु भएको योगदान लेखा व्यवसायमा सधैं पथप्रदर्शकको रुपमा रहिरहने संघको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय