इस्लामावाद– पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् ।
श्रीमती बबली जस्कानीले छोरी बेच्न नदिएपछि रिसाएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ ।
बबलीका भाइ मुनब्बर जस्कानीले आफ्ना भिनाजुले भान्जी हुमेरालाई १ लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् । यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन् ।
बबली जस्कानीका भाइ मुनब्बरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानविन शीघ्र सुरु हुने प्रहरीले जनाएको छ । सेहवान अस्पतालमा पोस्टमार्टमपछि बबली जस्कानीको शव आफन्तलाई बुझाइएको छ ।









