अहिले गृष्म र वर्षा ऋतुको समय हो । आयुर्वेदको मान्यता अनुसार यस ऋतुमा मान्छेको शरीरबल र मनोबल निकै कमजोर हुन्छ । सामान्य जीवनशैलीमा थोरै मात्र हेरफेर हुँदा पनि त्यसलाई शरीरको कमजोर बलले सन्तुलन गर्न सक्दैन र शरीरमा गडबडी भई रोग देखिन्छ । कमजोर बल भएको यस अवस्थामा बालबालिकाहरू रोगप्रति थप संवेदनशील हुन्छन् । त्यसैले अनेक कारणले यस ऋतुमा ठूला मानिस तथा साना बालबालिकाहरू पनि अन्य समय भन्दा बढी बिरामी हुने गर्दछन् ।

गर्मी मौसममा खाना र पानीको सन्तुलन वा खानपानशैली नमिलेर पनि बालबालिकाहरूमा सामान्यत दिसा पातलो आउने, दिसामा रगत देखिने, अनि बान्ता पनि गर्नेजस्ता समस्या देखा पर्न सक्छन् । त्यससँगै धेरै बालबालिकालाई पखाला लाग्ने पनि गर्दछ ।

६ महिनासम्मका बालकहरूका लागि आमाको दूध नै सम्पूर्ण पोषक तत्त्व र ऊर्जाको स्रोत हुन्छ तर आमाको शरीरमा त्यस्ता बालखलाई चाहिने पर्‍याप्त मात्राको दूध बन्दैन भने गाईको दूध बच्चालाई दिनु हितकारी कि अहितकारी ? ६ महिनामाथिका बच्चालाई अन्नको साथै आमाको दूध पनि दिइन्छ । त्यसबेला आमाको शरीरमा बच्चालाई चाहिने पर्‍याप्त मात्राको दूध बन्दैन भने गाईको दूध बच्चालाई दिनु उपयुक्त हुन्छ हुँदैन ? त्यस्तै अन्न खाने वर्गका बालकलाई गाईको दूध दिनु ठीक हो कि गलत?

बच्चालाई गाईको दूध सेवन: भ्रम र यथार्थ शीर्षकमा कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर राजकुमार बिकको विचार एउटा अनलाइनमा प्रकाशित भएको थियो । त्यस लेखमा व्यक्त अर्ध एवं अस्पष्ट सूचना एवं सन्दर्भले जनमानसमा रहेको भ्रम मेटाउनुको सट्टा झन् बढाइ दिएको महसुस गरें । लेखमा विषयलाई परम्परागत अभ्यासभन्दा आधुनिक चिकित्सा विज्ञानको अभ्यास विपरीत चित्रण गरिएकोले लेखको विषय विवादित समेत बनेको छ । डा. बिकको लेखमा व्यक्त विचार गलत नभए पनि अस्पष्ट भएकाले त्यसै विषयलाई थप सन्दर्भ, तथ्य र तर्कका आधारमा जनमानसमा रहेको भ्रम घटाउन यो आलेखको योजना गरेको छु ।

हजारौं वर्षदेखि परम्परागत रूपमा बालखहरूलाई गाईको दुध दिने संस्कार, संस्कृति एवं परम्परा हामीकहाँ छ जसलाई सतही तथ्य र तर्कले गलत स्थापित गर्न सक्दैन । हजारौं वर्षको अभ्यासको प्रत्यक्ष परिणामको जगमा उभिएर के भन्न सकिन्छ भने गाईको दूध बच्चाका लागि अमृत हो । निःसन्देह गाईको दूध बच्चाको लागि सर्वथा हितकारी हुन्छ ।

त्यससँगै अर्को यथार्थ के बुझ्नु उत्तिकै जरुरी हुन्छ भने गाईको दूध केही बालकहरूका लागि हितकारी नहुन पनि सक्छ । विश्वमा सबैका लागि उपयुक्त हुने कुनै एउटै निरपेक्ष खाना आजसम्म बनेको छैन र त्यस्तो सम्भव पनि हुँदैन । त्यसकारणले कुनै पनि वस्तु वा विधि सबैका लागि उपयुक्त हुन्छ भन्ने ठान्नु ठीक होइन । एउटै रोगका लागि पनि व्यक्ति अनुसार फरक फरक औषधी दिनुपर्ने हुन्छ । केही खास समूहका लागि उपयुक्त वा अनुपयुक्त देखिएको वस्तु वा विधिलाई सबैका लागि उपयुक्त वा अनुपयुक्त भनी सामान्यीकरण गर्नु भम्र छर्नु मात्र हुन्छ । बायोलोजिकल्ली हरेक व्यक्ति आफैंमा पृथक हुन्छ र विशेष पनि ।

बच्चाका लागि गाईको दूध हानिकारक हुँदैन, हितकर नै हुन्छ । बच्चालाई गाईको दूध सेवन गराउनु सर्वथा ठीक हो, उचित हो तर अनुसन्धानहरूका अनुसार गाईको दूधको सेवनले त्यसमा भएको प्रोटिनको कारण १०० जनामध्ये बढीमा ५ जनालाई एलर्जी हुन सक्छ । उनीहरूमा गम्भीर खालका लक्षण देखिन सक्छन् । यी विचारणीय पक्षलाई ध्यानमा राखेर बालबालिकालाई गाईको दूध सेवन गराउनुपर्दछ ।

आधुनिक चिकित्सा विज्ञानमा काउ मिल्क प्रोटिन एलर्जी (सीएमपीए) का विषयमा चर्चा गरिएको पाइन्छ । एलर्जी सम्बन्धमा गरिएका धेरै अनुसन्धानहरूबाट यस विषयलाई पुष्टि गरिएको छ। आधुनिक चिकित्सा विज्ञानका अनुसार धेरै बच्चाहरूलाई गाईको दूधमा हुने प्रोटिनबाट एलर्जी हुने गर्दछ । डायग्नोसिस एन्ड र्‍यासनल फर एक्सन एगेन्स्ट काउज मिल्क एलर्जी (डीआरएसीएमए), युरोपियन सोसाइटी फर पेडियाट्रिक ग्यास्ट्रोएन्ट्रोलोजी, हेपाटोलोजी एन्ड न्युट्रिसन (इएसपीजीएचएएन, द अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स एएपी एण्ड नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इनफेक्सियस डिजिज (एनआइएआइडी) गाइडलाइन्सले निकालेको तथ्यांकअनुसार बच्चाहरूमा करिब २ देखि ५ प्रतिशतमा यस्तो समस्या देखिने गरेको छ । यही अध्ययनका अनुसार संसारमा ५ वर्ष मुनिका बालबालिकामा हुने एलर्जीमध्ये सबैभन्दा बढी खाद्य पदार्थको एलर्जीको मुख्य कारण गाईको दूध सेवन गर्नुलाई मानिएको छ ।

हाम्रा हजुरबुवा हजुरआमाले बच्चाको लागि गाईको दूध राम्रो हुन्छ भनेर दूध खुवाउनु कुनै पनि मानेमा गलत होइन । हजुरबुबाको त्यो अनुभवजन्य ज्ञानलाई अन्धविश्वास र अवैज्ञानिक ठान्नु पनि सही हुँदैन । ७०–८० वर्षको अनुभव सयौं अनुसन्धानको तथ्यांकभन्दा विश्वसनीय हुन्छ ।

कुनै बच्चालाई गाईको दूध खुवाएपछि गम्भीर समस्या देखिन्छ भने त्यसलाई काउ मिल्क प्रोटिन एलर्जी (सीएमपीए) भएको हुन सक्छ । गाईको दूधका कारण एलर्जी भएको हो भने देहायका लक्षण देखिन सक्छन्, जसलाई मिहीनपूर्वक विचार गर्नुपर्छ । जस्तै वान्ता तथा पखाला हुने, दिसामा रगत देखिने, खान मन नगर्ने, खाना सर्काउने, खाने बित्तिकै हुलुक्कहुलुक्क निकाल्ने, छालामा डाबर आउने, रुघाखोकी लागिरहने, दमको समस्या देखिने, शरीर चिलाउने, ओठ सुनिने, कल गरेर रोइराख्ने, पेट दुख्ने, रक्तअल्पता हुने, आइरनको कमी हुने, कब्जियत हुने, उमेर अनुसारको तौल नबढ्ने, कहिलेकाही श्वास फेर्नै गाह्रो हुने, हात खुट्टा लुलो हुने आदि । यस्तो भए गाईको दुध उक्त बच्चाको लागि उपयुक्त छैन भनेर बुझ्नु नै बुद्धिमानी हुन्छ । त्यस्ता विशेष प्रकृतिका बच्चाहरूलाई पनि गाईको दुध संस्कार गरी फरक विधिले प्रयोग गर्ने विकल्पहरू भने रहन्छन्।

डाक्टर राजकुमार बिकका अनुसार काउ मिल्क प्रोटिन एलर्जी (सीएमपीए) लगभग ५० प्रतिशत बच्चालाई १ वर्षको उमेरसम्म, करिब ७५ प्रतिशतलाई ३ वर्षको उमेरसम्म र ९० प्रतिशत बच्चालाई ६ वर्षको उमेरसम्ममा यो समस्या कम भइसक्छ । यसमा दुई किसिमको असर देखिन्छ । एउटा तुरुन्तै देखिने जुन केही मिनेटदेखि घण्टाभित्र देखिन्छ भने अर्को असर केही दिनपछि विस्तारै देखिने गर्दछ ।

गाईको दूध प्रयोग गर्दा निसर्त रूपमा गाई स्वस्थ भएकै हुनुपर्छ । गाईलाई दिइने खानपानले पनि गाईको दुधको गुणस्तरमा असर गरेको हुन्छ । गाईको प्रजातिले गाईको दूधको गुणस्तरमा फरक पर्छ । जर्सी गाई र लोकल गाई दुई प्रसिद्ध प्रजाति हुन् । लोकल गाईको दूधमा ए टू टाइपको प्रोटिन पाइन्छ जुन प्रोटिन आमाको दूधमा पनि पाइन्छ तर जर्सी गाईको दुधमा ए वान टाइप प्रोटिन पाइन्छ जुन मान्छेको शरीरमा पच्न गार्हो हुन्छ ।

बच्चाका लागि गाईको दूध हानिकारक हुँदैन, हितकर नै हुन्छ । बच्चालाई गाईको दूध सेवन गराउनु सर्वथा ठीक हो, उचित हो तर अनुसन्धानहरूका अनुसार गाईको दूधको सेवनले त्यसमा भएको प्रोटिनको कारण १०० जनामध्ये बढीमा ५ जनालाई एलर्जी हुन सक्छ । उनीहरूमा गम्भीर खालका लक्षण देखिन सक्छन् । यी विचारणीय पक्षलाई ध्यानमा राखेर बालबालिकालाई गाईको दूध सेवन गराउनुपर्दछ ।

बालबालिकालाई खुवाइने गाईको दूध हरेक हिसाबले गुणस्तरीय र किटाणु एवं विषाणु रहित हुनुपर्छ । बजारमा पाइने प्रशोधित दूध गाईको दूधको सहज विकल्प भए पनि त्यसलाई गाईको दूधसँग तुलना गर्न मिल्दैन । अत: भ्रममा नपरौं बच्चाको लागि गाईको दूध हानिकारक होइन तर केही अपवाद जहाँ पनि हुन्छन् त्यसलाई पनि विचार गरौं ।

(स्वतन्त्र समाचार सेवा – आइएनएस)

Hello

प्रतिक्रिया

सम्बन्धित खवर