काठमाडौं– भाटभटेनी समूहले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पताललाई ७१ करोड रुपैयाँभन्दा धेरै लागतमा निर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरेको छ । बूढानीलकण्ठ नगरपालिका–७, हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन भाटभटेनी समूहका मिनबहादुर, सावित्री गुरुङ, पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन् ।
शनिवार आयोजित एक कार्यक्रममा जगतगुरु शंकराचार्य विधुशेखर भारतीले सो भवनको उद्घाटन गरेका छन्। व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न ७१ करोड ४ लाख ४२ हजार २४४ रुपैयाँ खर्चेको बताइएको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताइन् ।
अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले गैरनाफामूलक संस्थाका रुपमा रहेको यस संस्थाले विशिष्टीकृट स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । व्यवसायी गुरुङले सर्वसाधरण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पताल स्थापना गरिएको बताए।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता तथा समाज कल्याण परिषदमा आबद्ध भई गैरसरकारी सामाजिक संस्थाका रूपमा सञ्चालनमा छ । उक्त इन्स्टिच्युटको काठमाडौं उपत्यकामा विशिष्टीकृट सेवासहित बाल अस्पताल तथा सातवटै प्रदेशमा भौतिक संरचनासहित बाल अस्पताल सञ्जाल निर्माण गरिरहेको छ ।
देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्यका साथ उक्त अस्पताल स्थापना गरिएको हो ।









