सिड्नी– अस्ट्रेलियामा कार्यरत कामदारको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बढेको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य वृद्धि भएकाले कामदारको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्यूनतम पारिश्रमिक बढाइएको हो ।
स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अस्ट्रेलियामा कार्यरत मजदुरको अबको न्यूनतम पारिश्रमिक प्रतिघन्टा २१.३८ अस्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्यूनतम पारिश्रमिक प्रतिघन्टा २०.३३ अस्ट्रेलियन डलर थियो ।
हरेक मजदुरले हप्तामा थप ४० अस्ट्रेलियन डलर कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आयोगको यस निर्णयले अस्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई फाइदा हुनेछ । केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए ।
तर विभिन्न कर्मचारी संगठनहरुले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुबैको मागको बीचमा रहेर ५.२ प्रतिशत वृद्धि गर्ने निर्णय आयोगले गरेको छ ।
आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको पारिश्रमिक अति न्यून भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन आग्रह दबाव दिने गरेको बताए ।
उनले भने, ‘विषेश गरेर तल्लो तहका कर्मचारीहरुले तलव धेरै पढाउन पटक पटक दवाव दिदै आएका थिए ।’









