काठमाडौं– ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं एकआपसमा गाभिने भएका छन् । बिहीबार काठमाडौंमा दुई बैंकबीच मर्जर सम्झौता भएको हो । मर्जर सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबलका रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

अहिलेलाई सेयर स्वाप अनुपात १ बराबर १ हुने समझदारी भएको छ । दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) पछि अन्यथा अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन गर्ने सहमति छ ।

बैंक अफ काठमाण्डूसँग गाभिएपछि ग्लोबल आइएमई बैंकमा गाभिने बैंक, वित्तीय संस्थाको संख्या २१ पुग्नेछ । उक्त संख्यामा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी छन् । मर्जरपछि कुल पुँजी ५२.२९ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३४.४१ अर्ब रुपैयाँ, कुल निक्षेप ३८४ अर्ब रुपैयाँ, कुल कर्जा ३८० अर्ब रुपैयाँसहित कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको यो सबैभन्दा ठूलो बैंक हुनेछ ।

दुई बैंकहरु गाभिएपछि संस्थाको पुँजी वृद्धि, कार्य ोत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए । ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैं पहिलो हुने गरेको दाबी गर्दै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए ।

उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा यो दिन सधै संस्मरणमा रहने बताए ।

उनले गाभिनु प्राकृतिक प्रक्रिया भएको भन्दै मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए । उनले नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय