काठमाडौं– कर्मचारीमाथि दुर्व्यवहार र अश्लील गालीगलौजका कारण पटकपटक विवादमा आइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको दाबी गरेका छन् ।

आलेले विभिन्न सञ्चारमाध्यममा निगमका कार्यकारी अध्यक्षमाथि आलेले हातपात गरेको भनी आएका समाचार र अश्लील गालीगलौजपूर्ण अडियोको बचाउ गर्न खोजेका छन् ।

उनले समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाएर मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवहार र हातपात नगरिएको दाबी गरे ।

उनले सो कुरा मन्त्रालय र सिंहदरबार परिसरका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रस्ट हुने दाबी गरेका छन् । ‘आवश्यक परे मन्त्रालय र प्रशासनले सिसिटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ,’ रासससँगको कुराकानीमा उनले भनेका छन् ।

कतिपय काममा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुन सक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर रहने भन्दै मन्त्री आलेले पछिल्ला दिनमा उडान संख्या वृद्धि हुँदै गएको तर जापानलगायत गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृत्रिम अभाव गराई आफूनिकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि स्थानीय तहको चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उनले बताए ।

मन्त्रालयमा आएका यी गुनासाका विषयमा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएपछि त्यसलाई रोक्न धेरै शक्ति केन्द्रबाट कार्यकारी अध्यक्षले उल्टै आफूमाथि अनैतिक दबाब दिएको दाबी गर्दै मन्त्री आलेले निगम अध्यक्षमाथि हातपात गरिएको भनेर आएको समाचार झुठो रहेको बताए ।

नेपाल वायुसेवाका अध्यक्षमाथि आएका कार्यालयभित्रै तथा सर्वसाधारण नागरिक र सेवाग्राहीका गुनासाका विषयलाई मन्त्रालयले अध्ययन गरेर अध्यक्षलाई सम्झाइबुझाई गरी सुधारका लागि कैयौंपटक मौका दिए पनि त्यसमा सुधार नआएको मन्त्री आलेले बताए । आफ्नाविरुद्ध निरन्तर प्रचारमा लागेका केही व्यक्तिले आफूलाई बदनाम गर्न समाचार लेखाएको उनको आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय